भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

– कृशु श्रेष्ठ – 

२०७८ साउन १५ गते

लावण्य/साँखु । साँखु भेगकै सबैभन्दा पुरानो क्याम्पस भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकाले हस्तान्तरण गरि लिएपछि तत्कालै सञ्चालक समितिले भर्खरै शंखरापुर नगरपालिकाको शिक्षा शाखा प्रमुखबाट सेवा निवृत्त हुनुभएका पूर्व उपसचिव (दशौँ तह) बौद्वराज निरौलालाई क्याम्पस प्रमुख नियुक्त गरेको छ ।

शंखरापुर नगरपालिकाले यस क्याम्पसको व्यवस्थापन यही २०७८ साल असार महिनाबाट गरेको हो । क्याम्पस सञ्चालक समितिको २०७८ साउन ३ गतेको बैठकबाट शिक्षा क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका शंखरापुर न पा शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत रहि उप सचिव (दशौँ तह) बाट सेवा निवृत्त हुनुभएका निरौलाको नियुक्ति गरिएको हो । यस अघिका क्याम्पस प्रमुख शम्भुदास श्रेष्ठको आकस्मिक निधन पछि रिक्त रहेको क्याम्पस प्रमुखमा पदपूर्ति गरिएको हो ।

हाल यस क्याम्पसमा सञ्चालक समितिका अध्यक्ष शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ तथा उपाध्यक्ष शंखरापुर नपाका उप–प्रमुख श्रीमती शुक्रलक्ष्मी श्रेष्ठ हुनुहुन्छ भने सदस्यहरुमा निवर्तमान का. वा. अध्यक्ष दुर्गाप्रसाद मल्ल, गोपालकृष्ण श्रेष्ठ, सुमनमेहेर श्रेष्ठ, मिजेन्द्रकाजी श्रेष्ठ, वडा नं ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ र मदन गोपाल श्रेष्ठ रहनुभएको छ ।

क्याम्पसले नयाँ शैक्षिक सत्रबाट ब्याचलर ईन एग्रो फरेस्ट्री तथा बीएड संकायमा टिचिङ ईङ्लिस, टिचिङ नेपाली, टिचिङ म्याथम्याटिक्स, टिचिङ सोसियल स्टडिज र सेमेस्टर सिस्टमको बीएड ईन आईसिटी र बीसीए सञ्चालन को सम्भावना अध्ययन शुरु गरिरहेको छ ।

यस भेगकै पुरानो क्याम्पसका नयाँ व्यवस्थापन र नव नियुक्त क्याम्पस प्रमुखको अनुभवबाट भाग्योदय क्याम्पसको उन्नति एवं प्रगतिको आशा यस क्षेत्रमा गरिएको छ ।