नमो नारायण मासिक भजन स्थलको लागि १ लाख निकासा

लावण्य÷साँखु । शंखरापुर नगरपालिका वडा नं. ४ स्थित लप्सेफेदी चाँपको बोटमा नमोनारायण मासिक भजनको लागि व्यवस्थित गर्न पाटी पौवा निर्माणको लागि शंखरापुर नगरपालिकाले १ लाख बजेट विनियोजन गरिदिएको छ ।
सो मासिक भजनको फाल्गुण महिनाको संस्करणको अवसरमा सो जानकारी दिईएको थियो । भजनमा शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडाको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सिम्खडाले नगरपालिकाले छुट्याईदिएको रकमले पाटी पौवा बन्न बिश्वास व्यक्त गर्दै सो पाटी पौवा सम्बन्धी प्राविधिक कार्यको लागि वडा नंं ४ का इञ्जिनियर नविन केसीलाई जिम्मेवारी दिईएको समेत सो अवसरमा बताउनुभएको थियो ।
लप्सेफेदीस्थित चाँपको वोटमा विगत १ वर्ष अगाडिदेखि निरन्तर महिनाको अन्तिम बृहस्पतिवार पन्चभजन तथा धार्मिक कथा वाचन कार्यक्रम सन्चालन भैरहेको छ ।
नमोनारायण भजन स्थलमा स्वस्थानीमा वर्णन गरिएका नवराज तथा लावण्यवतीको मन्दिर निर्माण गर्ने लक्ष सहित उक्त भजनमण्डप संगै एक रोपनी जग्गा समेत छुट्याई मन्दिर निर्माण उपभोक्ता समिति पनि गठन गरिएको छ ।
सोही उपभोक्ता समितिले पार्टी पौवा निर्माण सम्बन्धी कार्य गर्ने जानकारी सो समितिका अध्यक्ष रामप्रसाद देवकोटाले जानकारी दिनुभएको छ ।

Leave a comment